दैलेखका सबै तहमा लाखे जात्रा सदरमुकाममा मेलाको रौनक बढ्दै हेर्नुहोस् भिडियो सहित

साउन २२, दैलेख
दैलेखमा पुरानो संस्कृतिको रुपमा रहेको बर्षेमेला लाखेजात्राको रौनक बढ्दै गएको छ । पुराना पुस्ताहरुले अनुसरण गर्दै आएको बर्षे मेला दैलेखका युवाहरुले संस्कृति हस्तान्तरण सँगै मेला जोगाउने अभियानमा लागेका छन् । दैलेखमा सवैभन्दा लामो एक महिना सम्म मेला लाग्ने मेलाको रुपमा बर्षे मेलालाई लिने गरिएको छ । सयौं वर्ष पुरानो मानिएको बर्खेमेला सामाजिक सद्भाव कायम गर्दै मेला संचालन गर्नुपर्ने सुझाव जिल्ला प्रहरी कार्यालय दैलेखले दिएको छ ।
विशेषगरी भगवान कृष्णको जन्म लीलासँग सम्बन्धित यो मेला अवधिभर मौलिक कला संस्कृति प्रदर्शन गर्ने गरिन्छ । यो मेलाले धार्मिक साँस्कृतिक तथा सामाजिक सद्भाव कायम गर्ने गरेको सामाजिक अगुवाहरू बताउँछन ।
पुरानो संस्कृति अनुसार भुगोलले टाढा भएका आफन्तहरु मेलाको माध्यामबाट भेटघाट गर्ने, ल्याएका कोशेलीहरु बिक्रि बितरण सँगै साटासाट गर्ने गरिन्थ्यो अहिले केही मात्रामा कमि आएको भएपनि मेलाको रौनक नघटेको काईलावावु श्रेष्ठले जानकारी दिएका छन् । खेतबारीमा व्यस्त भएका किसानले काम सकेपछि मनोरञ्जन लिने अवसरको रूपमा पनि यो मेलालाई लिइन्छ । मेला अवधिभर स्थानीय स्तरमै उत्पादन भएका राडीपाखी, ध्यू, मह, जस्ता उत्पादनहरुको सहज बिक्रि हुने गर्दछ । साउन महिनाको घटस्थापनाका दिनदेखि सुरु हुने बर्खेमेला अन्तर्गत मुख्य रुपमा लाखे जात्रा, टाकटुके जात्रा, रोपाँई जात्रा, बाघ जात्रा जोगी जात्रा हुँदै अन्तिम दिन अर्थात कृष्ण जन्म अष्ठमीको राती कृष्णको जन्म गराई भोलिपल्ट कृष्ण र कंशका रुपमा लाखेलाई बजार परिक्रमा गर्ने गरिन्छ कृष्ण लिला अनुसार कंशको रुपमा एक महिनासम्म नाँचगान गर्ने लाखेको बध गरिन्छ ।

सबै पालिकामा मेला
संघीय संरचना अनुसार अहिले दैलेखका ११ वटा स्थानीय तहमै यस्ता मेलाहरु सुरु भएका छन् । संस्कृति हस्तान्तरण गर्नु राम्रो तर बिकृतिहरु आउन नहुने मेलाका जानकार बिशाल सुनारले बताए ।
मल्ल कालमा राजा प्रताप मल्लको पालामा काठमाडौं उपत्यकामा नेवार समुदायले मनाउने गरेको लाखे जात्रालाई तत्कालिन समयदेखि नै दैलेखमा रहेका नेवार समुदायले बनाउँदै आएको पाईन्छ । दैलेख जिल्ला राणा कालमा ३५ जिल्लाको मालपोत उठाउने शक्तिसाली जिल्लाको रुपमा परिचत भएकोले उतिवेलै देखि यस्तो संस्कृति आएको अनुमान गरिएको छ ।

मेलाको नाममा बिकृति रोक्न प्रहरी परिचालन
दैलेख सदरमुकाममा सामाजिक क्षेत्रमा काम गर्दै आएका एभरेष्ट क्लव, सुनगाभा, ज्वाला क्लव र भगवती युवा क्लवले मेलालाई विगत लामो समयदेखि संचालन गर्दै आईरहेका छन । मेलाको अवधिमा हुने बिकृतिहरु रोक्नका लागि जिल्ला प्रहरी कार्यालय दैलेखले लाखे सँगै प्रहरी परिचालन गरेको छ । लागु औषध सेवन गरेर झै भगडा गर्ने प्रचलनलाई पूर्ण रुपमा बन्द गर्न प्रहरीले सवैलाई अनुरोध समेत गरेको छ । माधक पदार्थ सेवन गरेर मेलाभित्र प्रवेश नगर्न पनि युवाहरुलाई प्रहरीले सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार